समाचार

हिमपातले मुस्ताङमा १९ सय चौपाया मरे

पशुबिमा नगर्दाको नोक्सान

लोमान्थाङका किसान पासाङ गुरुङले दुई सयभन्दा बढी च्यांग्रा पालेका छन्। १५ वटाजति भेडा र केही चौरी पनि छन्। तर, गुरुङले पालेका कुनै पनि पशुको बिमा गरेका छैनन्। पशुको बिमा गर्दा लगानी सुरक्षित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि गुरुङले चासो दिएका छैनन्। 

‘केही महिनाअघि हामीले पशुबिमाको प्रक्रिया र फाइदाबारे तालिम लिएका हौं,’ गुरुङले भने, ‘तालिम बेला चलेको बिमाको चर्चातालिम सकिएसँगै हरायो।’ उनका अनुसार माथिल्लो भेगका कोही पनि किसानले पशुबिमा गरेका छैनन्। 

बिमा गर्न किसान समूह तयार हुनुपर्ने र प्रक्रिया अघि बढाउन सदरमुकाम जोमसोमसम्म जानुपरेको भन्दै स्थानीय तयार नभएपछि आफूले पालेका पशुको बिमा नगरेको उनले बताए। ‘बिमाका लागि समूह बन्नुपर्ने र प्रक्रियाका लागि सदरमुकाम झर्न परेपछि किसान तयार भएनन्,’ उनले भने, ‘म आफैं पनि सक्रिय हुन सकिनँ। मेरै पशुको बिमा छैन।’ गोठालाका भरमा मात्र पालिएका पशुको बिमा गर्न कतिपय किसान तयार नभएको उनले बताए। 

बेलैमा बिमा नगर्दा अहिले लोमान्थाङका किसानले ठूलो नोक्सानी आफैंले बेहोर्नुपरेको छ। हिमपातले गर्दा धेरै पशु मरेका छन्। बिमा नगरेकै कारणले किसानले यसपटक ठूलो क्षति भोग्नुपरेको उनले बताए। ‘बेलैमा पशुको बिमा गर्नुपर्छ भन्ने बल्ल बुझियो। मैले त धेरै क्षति भोग्नु परेन, तैपनि च्यांग्राका केही पाठापाठी मरेका छन्,’ उनले भने, ‘धेरै किसानले नोक्सानी सहनुपर्याे।’ बेलैमा किसान तयार नहुँदा बिमा नभएको र त्यसको क्षति भोग्नुपरेको उनले बताए। 

झण्डै डेढ महिनासम्म परेको हिमपातले अहिलेसम्म लोमान्थाङ गाउँपालिकाका किसानले पालेका झन्डै १९ सय पशु मरिसकेका छन्। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिकाको १ देखि ५ वडाका किसानले पालेका ती पशु अधिक हिमपातले गर्दा खानै नपाई मरेका हुन्। उनले अहिलेसम्म झण्डै १९ सय पशु मरेको फेला पारेको बताए। सोमबारसम्म १४ सय पशु मरेको तथ्यांक संकलन गरेको प्रहरीले मंगलबार थप चार सय फेला पारेको उनले बताए। रेग्मीका अनुसार भेडाच्यांग्रा मात्र १४ सय ६६ वटा मरेको फेला परेका छन्। चौरी तीन सय ५८ र गाइगोरु ४० वटा मरेको प्रहरीले फेला पारेको छ। 

‘झन्डै १९ सय पशु मरेको तथ्यांक छ। तीमध्ये कुनै पनि पशुको बिमा भएको रहेनछ,’ रेग्मीले भने। व्यावसायिक रुपमा पालिएका ती पशु मरेपछि किसानले झण्डै सात करोड रुपैयाँ नोक्सान भोगेको रेग्मीले बताए। व्यवसाय गर्नेले हेलचेक्र्याइँ गर्दा यो क्षति भएको उनले बताए। 

‘सरकारले दिने राहतको कुनै टुंगो हुँदैन। हामीले क्षति विवरण गृह र कृषि मन्त्रालयमा पठाउँछौं। सरकारले दिने क्षतिपूर्ति पनि निकै नै कम हुन्छ,’ उनले भने, ‘त्यसैले पशुबिमा आवश्यक परेको हो। तर, किसान सचेत भएनन्।’ पशुपालक कुनै पनि किसानले अहिलेसम्म पशुको बिमा नगरेको उनले बताए। 

उनका अनुसार पछिल्लो केही वर्षयता सिजनमा पनि अधिक हिउँ नपरेपछि किसानले पशुपालनलाई तीव्रता दिएका थिए। तर, यो सिजनमा अधिक हिउँ परेपछि पशुको चरनक्षेत्र पुरिएको थियो। चरनमा मात्र निर्भर पशु हिउँले बुट्याउन र घाँस उम्रेको क्षेत्र पुरेपछि भोकभोकै परेका थिए। ‘हिमपात अधिक भयो, हिउँले घास र बुट्यान पूरै छोप्यो, पशुले खानेकुरै पाएनन्,’ उनले भने, ‘खानै नपाएका पशु भोकभोकै परेर छट्पटिँदै मरे।’ उनका अनुसार अझै पनि हिउँको थुप्रो रहेकोले पशु पुरिएको आशंका गरिएको छ। हिउँ पग्लिने क्रममा थप क्षति थाहा हुने उनले बताए। 

पशु मरेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ। एक्यापले किसानका लागि पशु र बालीबिमा सहित वन्यजन्तुले घरपालुवा चौपाया क्षति पुर्याए राहत दिने गरी बजेट छुट्ट्याएको थियो। त्यसका लागि एक्यापले अघिल्लो आर्थिक वर्षका लागि झण्डै चार लाख र चालु आर्थिक वर्षका लागि पाँच लाख २५ हजार रुपैयाँ छुट्ट्याएको थियो। एक्यापको त्यो रकम पशुको बिमा गरेका किसानले तिर्नुपर्ने प्रिमियम रकममा थप्ने गरी विनियोजन गरेको थियो। 

एक्यापका जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार प्रिमियम रकमको ७५ प्रतिशत सरकार र बाँकी किसानले तिर्नुपर्ने नीति छ। किसानले तिर्ने २५ प्रतिशत रकममध्ये पनि आधा (१२.५ प्रतिशत) किसान र बाँँकी १२.५ प्रतिशत एक्यापले बेहोर्ने गरी रकम छुट्ट्याएको थियो। तर, कोही पनि किसान पशुको बिमा गरेको भन्दै एक्यापमा रकम माग्न नआएको उनले बताए। ‘पशुबिमामा किसानको निकै नै कम लगानी पर्छ। सरकारले ७५ र एक्यापले १२.५ प्रतिशत बेहार्ने भएपछि किसानको भागमा १२.५ प्रतिशत मात्र पर्छ, तैपनि किसान आएनन्,’ उनले भने, ‘बिमाको रकम खर्च नै भएन। अहिले पनि खर्च भएको छैन।’ वन्यजन्तुले घरपालुवा पशु नोक्सान पु¥याएको भन्दै किसानले क्षतिपूर्ति रकम बुझे पनि बिमा कसैले नगरेको उनले बताए। 

एक्याप र कृषि विकास बैंक मिलेर गत असारमा मुस्ताङका पशुपालक किसानलाई लक्षित गर्दै पशुबिमाबारे जनचेतना फैलाउने गरी प्रशिक्षण दिइएको बंैंकका पोखरास्थित क्षेत्रीय प्रमुख तेजमानसिंह भण्डारीले बताए। भण्डारीका अनुसार सरकारले बिमा गर्ने सबैखाले पशुको न्यूनतम र अधिकतम मूल्य तोकेको छ। त्यही मूल्यको पाँच प्रतिशत मात्र बिमाको वार्षिक प्रिमयम पर्न आउँछ। पाँच प्रतिशत रकमलाई पनि शतप्रतिशत मानेर सरकारले ७५ र बाँकी २५ प्रतिशत किसानले बेहोनुपर्ने प्रावधान छ। तर पनि किसान बिमा गर्न तयार नभएको उनले बताए। बिमा गरेको रकमको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाइने प्रावधान रहेको उनले बताए। 

‘किसान नै जागरुक हुन सकेनन्। हामीले प्रशिक्षण दिए पनि किसान तयार भएनन्, जसले गर्दा नोक्सान एक्लै बेहोर्नुपर्याे,’ उनले भने।  भण्डारीका अनुसार पाँचदेखि ११ जना किसानको समूह बिमा बनाएर गरिन्छ। समूहकै नाममा खाता खोलेर सरकारले दिने रकम संंकलन गरिदिने, क्षति नभएको खण्डमा त्यही रकममार्फत अर्काे वर्षका लागि बिमा गरिदिने, क्षतिपूर्ति दिनुपरेको खण्डमा पनि समूहमार्फत जाने प्रावधान भएको उनले बताए। ‘पाँच प्रतिशत निकै नै कम रकम हो। किसानले निकै नै कम रकम तिर्दा पनि राहत पाउने गरी क्षतिपूर्ति पाउँथे,’ भण्डारीले भने, ‘तर बेवास्ता गरे।’ 

गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालयका प्रवक्ता माधव लम्सालका अनुसार बिमा गर्ने पशुको न्यूनतम र अधिकतम मूल्य तोकिएको छ। त्यही अनुसार भेडा, च्यांग्रा र बाख्राको प्रतिगोटा मूल्य ८ देखि १० हजार रुपैयाँ छ। चौरीको बाच्छीको १२, माउको २५ र याकको ८० हजार रुपैयाँ तोकिएको छ। त्यही मूल्यको पाँच प्रतिशत रकम बिमाको प्रिमियम पर्न आउँछ। ८० हजार रुपैयाँको याक बिमा गर्दा वार्षिक प्रिमियम जम्मा चार हजार रुपैयाँ पर्छ। त्यसको ७५ प्रतिशत सरकार र किसानले २५ प्रतिशत तिर्नुपर्दा किसानको भागमा एक हजार रुपैयाँ पर्छ। त्यही एक हजार रुपैयाँमध्ये पनि एक्यापले आधा बेहोर्दा मुस्ताङका किसानको भागमा जम्मा पाँच सय रुपैयाँ पर्छ।

‘किसानले पाँच सय रुपैयाँ तिर्दा ८० हजार रुपैयाँको क्षति बेहोरिन्छ। बिमा गरेको याक मरेको खण्डमा किसानले ९० प्रतिशत (७२ हजार रुपैयाँ) पाउँछ,’ लम्सालले भने, ‘तर, किसानले बेवास्ता गर्दा यो अवस्था आयो। यसबारे किसान पनि सचेत हुनुपर्छ।’

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */