राजनीति

विप्लव, ‘प्रकाण्ड’ लगायत शीर्ष नेता भूमिगत

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाएसँगै उसका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गर्छ ? यो प्रश्न चासोको विषय बनेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसबारे चासो बढेको हो ।

 

सरकारले आपराधिक क्रियाकलपामा विप्लव समूहको संलग्नता रहेको निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाएपछि त्यसबारे सुरक्षा निकायले कस्तो रणनीति लिन्छ भन्ने चासो धेरैलाई छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘‘अहिले हामीले पनि सुनेका मात्रै छौं । प्रतिबन्धबारेको निर्णय हामीकहाँ आइपुगिसकेको छैन । सरकारले दिएको जिम्मेवारी पूरा गर्न प्रहरी तयार छ ।’’

 

सरकाले गतिविधिमा प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् । यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । यसअघि नै प्रहरी प्रधान कार्यालयले मौखिक रुपमा विप्लवसहित शीर्ष नेताहरुलाई देख्यो कि समात्न निर्देशन दिइसकेको थियो । 

 

तर अब अन्य कार्यकर्तामाथि पनि प्रहरीको निगरानी बढ्नेछ । एक प्रहरी अधिकारीले भने, ‘‘अहिले सबै ठाउँमा विप्लव नेकपाको सानो–ठूलो संगठन छ । यस्तो अवस्थामा आम कार्यकर्तालाई देख्यो कि समात्ने भन्नेतिर जाँदैनौं होला । तर संविधान विपरीतका कार्यमा संलग्न भएको पाइए समातिन्छन् ।’’

 

यसअघिका घटनामा संलग्न रहेकाहरु भने पक्राउको सूचीमा हुनेछन् । यसअघि माओवादी युद्धको बेला तत्कालीन विद्रोही माओवादीलाई प्रतिबन्ध लगाएपछि आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८ अन्तर्गत कारबाही गर्ने गरिएको थियो । तर, गणतन्त्र आएपछि त्यो ऐन खारेज भएको थियो ।

 

संविधानमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन पाइने व्यवस्था नभएपनि विप्लव समूह अपराधिक क्रियाकलापमा संलग्न रहेको र कतिपय घटनाको जिम्मेवारी लिएकाले संविधान आकर्षित नहुने प्रहरी अधिकारीको बुझाइ छ । यस्तै, प्रहरीले पछिल्लो ११ महिनामा मुलुकका विभिन्न स्थानबाट ४ सय जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । फागुन महिनामा मात्रै पाँच जना महिलासहित ५९ जना पक्राउ परेका छन् । उनीहरुमाथि चन्दा आतंक, धम्की, विस्फोटलगायतका कार्यमा संलग्न रहेको कसुरमा मु्द्दा चलाइएको छ । 

 

नेकपा स्रोतका अनुसार सरकार विप्लव समूहप्रति आक्रामक बन्दै गएपछि प्रवक्ता समेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत शीर्ष नेता भूमिगत भएका छन् । उनीहरु अब पार्टीको गोप्य कार्यक्रममा मात्रै सहभागी हुनेछन् । केही नेताहरुलाई अर्धभूमिगत अवस्थामा पार्टी काममा परिचालन गरिने एक कन्द्रीय नेताले जानकारी दिए । 

 

विप्लव समूहले ११ फागुनमा एनसेल प्रालिको नख्खुस्थित मुख्यालयमा एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते हुने गरी विष्फोट गराएसँगै लगातार अन्य स्थानमा पनि विष्फोट गराउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */