राजनीति

विप्लवको बन्द : सहरमा बम आतंक, ठाउँ ठाउँमा आगजनी, कहाँ के भयो?

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । 

सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए । 

बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।

कहाँ के भयो ?

विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । 

ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पनि व्यस्तता बढेको छ । 

नवलपरासीमा ट्रक जलाइयो 

विप्लवका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराति दुई ट्रकमा आगजनी गरेका छन् । ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । 

काठमाडौँबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ । आगलगीबाट ट्रकका टायर पछाडीको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ ।

राजमार्गमा नक्कली बम 

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने  जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो । 

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को  प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

मकवानपुरमा पनि जलाइयो

थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ । 

ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ एसपी सिंहले जानकारी दिए । ‘विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सफल पार्ने नाममा त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’ 

कैलालीमा बिहेको गाडी जलाइयो 

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ । 

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । 

आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आइरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

बुटवलमा बम 

उता प्रदेश ५ को राजधानी सहर बुटवलको व्यस्त कालिका चोकमै शंकास्पद बस्तु भेटिएको छ । कालिका चोकस्थिग सडकको डिभाइडरमाथि प्लास्टिकले बेरेर राखेको अवस्थामा बम जस्तै शंकास्पद बस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ । 

बुटवलमाा भेटिएको बम जस्तो बस्तु । तस्बिर : विकास पराजुलीको फेसबुकबाट

प्युठानमा बम 

प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।  

गोरखा बजारमा बम 

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

हेटौँडामा शंकास्पद बस्तु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ एचआईडीमा बम जस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका छन् । एफएम चोकमा टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् ।  अहिले त्यहा नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ ।

बाजुराका दुई ठाउँमा श‌ंकास्पद बस्तु  

उता बाजुराका दुई स्थानमा श‌ंकास्पद बस्तु फेला परेका छन् । बम जस्ता शंकास्पद बस्तुका कारण सवारी साधन पनि अवरुद्ध भएका छन् । शंकास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मीलाई खबर गरिएको छ। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */