सूचना-प्रविधि

एसईई परीक्षा: 'मोबाइलबाटै चिट चोर्ने सुविधा?'

राजविराज : एसईई परीक्षामा मोबाइलबाट चिट चोरि हुने गरिएको भेटिएको छ। परीक्षार्थीले चिट चोर्न गेस पेपर र कागजको साटो सप्तरीमा मोबाइल प्रयोग गर्न थालेको पाइएको हो। परीक्षा केन्द्रमा बिहान आठ बजेदेखि सुरु भएको गणित विषयको परीक्षामा बुधबार महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका मधुकुमारी मण्डल, भुपेन्द्रकुमार साह र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ।

उनीहरुले लवन मावि बमनगामा कट्टीबाट परीक्षा फारम भरेका थिए। चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए।

यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका एक परीक्षार्थी पनि बुधबार पक्राउ परेका छन्। तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले पुष्टि गरेको छ।

परीक्षा केन्द्रमा विद्युतीय सामाग्री ल्याउन निषेध गरिए पनि जुत्ता र संवेदनशील अंगमा मोबाइल लुकाएर ल्याइ चिट चोर्न प्रयोग गरेको पाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका वीरेन्द्र चौधरीले बताए।

जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका दुईजना विद्यार्थीले पनि मोबाइल प्रयोग गरेको फेला परेपछि उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। पहिलो दिन फेला परेको वेवारिसे मोबाइल अनुसन्धानका क्रममा ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनील साह र विमल दासको रहेको पत्ता लागेपछि बुधबारको परीक्षा सकिने बित्तिकै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

चिट चोर्नका लागि गेसपेपर र कागजपत्र लैजान र लेख्न झन्झटिलो हुने र पक्राउ पर्ने सम्भावना पनि बढी भएकाले मोबाइल प्रयोग हुन थालेको विद्यार्थीहरु बताउँछन्।

मोबाइल प्रयोग गरी वाट्सअप, भाइबर र फेसबुक चाट म्यासेञ्जरको माध्यमबाट प्रश्नपत्रको तस्बिर खिचेर बाहिर पठाउने र सोही माध्यमबाट उत्तरहरु आएपछि उत्तर पुस्तिकामा उतार्ने गर्छन्।

परीक्षा सञ्चालन भइरहेको अवधिमा पुग्ने प्रमुख जिल्ला अधिकारीसहितको प्रहरी, प्रशासन, शिक्षाका कर्मचारी, पत्रकार, स्थानीय पदाधिकारीको छुट्टा-छुट्टै टोलीले चेक गरुञ्जेल मर्यादित तथा शान्तिपूर्ण रहने परीक्षा केन्द्र टोली फर्कने वित्तिकै मोबाइलबाट उत्तर सार्न व्यस्त हुने गरेको टोलीमा संलग्नहरु स्वीकार्छन्।

कमलेश्वरी किशुन झौलाई मावि बनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पक्राउ परेका छन्। उक्त विद्यालयमा चिटका लागि प्रयोग भएको वेवारिसे मोबाइल समेत फेला परेको छ।

मोबाइल प्रयोग गरेर विद्यार्थीलाई चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका ४ का देवनारायण मण्डल, वडा नम्बर ९ का मनोजकुमार चौधरी र वडा नम्बर १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका ४ का लगेन्द्रप्रसाद चौधरी र वडा नम्बर ८ का रामानन्द चौधरी पक्राउ परेको सशस्त्र प्रहरी गण नम्बर ६ का एसपी खेम थापाले बताए।

उनीहरुलाई तत्काल परीक्षा केन्द्रबाट निष्कासित गरी इलाका प्रहरी कार्यालय कडरबोना ल्याइएकोमा जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको इप्रका कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए।परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत सोधपुछ गरिएको छ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */