पढ्नै पर्ने

कहाँ छन् अफ्रिका यात्रामा निस्केका चिनियाँ कोइली चरी?

सन् २०१६ को कुरा हो।

केही कोइली चरीहरूले मे महिनामा चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट उडान भरे। तीमध्ये पाँचवटा कोइली यस्ता थिए, जसको शरीरमा विशेष यन्त्र झुन्ड्याइएको थियो। त्यो यन्त्रले पल–पलको खबर कम्प्युटरमा पठाउँथ्यो।

र, त्यही खबरको सहाराले सुरु भयो कोइली चरीसँगै उड्ने एक अद्भूत वैज्ञानिक यात्रा।

ती पाँचमध्ये दुइटी कोइली चरीको नाम थियो– फ्ल्यापी र स्काईबम्ब।

प्रत्येक वर्ष हिउँद सुरु नहुँदै उत्तरी चीनका कोइलीहरू यसैगरी बसाइसराइँ गर्छन्। बसाइँ सर्ने क्रममा उनीहरू लामो उडानमा निस्कन्छन्। तर, कहाँ जान्छन्, के गर्छन्, कसैलाई थाहा थिएन।

यही पत्ता लगाउन अनुसन्धाताहरूले ती पाँच कोइली चरीको शरीरमा यन्त्र जोडेर तिनलाई पछ्याउन सुरु गरेका थिए।

निकै मिहिनेत गरेर अनुसन्धाताहरूले पछ्याएका ती चरी कहाँ पुगे? 

यी कोइलीको स्याटलाइटमार्फत् रेकर्ड भएको यात्रा विवरण सुन्ने हो भने तपाईं छक्क पर्नुहुन्छ।

तिनले हजारौं माइल यात्रा गरे। उडेरै दर्जनौं देश र महासागर नाघे।

कुनै पनि चराका लागि लामो उडान अत्यन्तै जोखिमपूर्ण हुन्छ। कतिपय त उडानकै क्रममा मर्छन्। त्यसमाथि यी कोइली चरीहरूले लामो उडान भर्न सक्छन् भन्ने कसैले ठानेकै थिएनन्। तर, कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ भनेको यही हो। कसैले नपत्याएका तिनै कोइली चरीले अन्ततः आफ्नो साहसिक यात्राबाट संसारलाई नै छक्क पारिदिए।

‘कोइलीहरूको साहसिक यात्राले हामीमा भावनात्मक प्रतिक्रिया जाग्छ,’ पर्यावरणविद क्रिस हेउसनले भनेका छन्, ‘हजारौं हजार माइल समुद्र र मरुभूमि नाघ्दै गरेको एउटा सानो चरासँग भावनात्मक रूपले जोडिँदा विशिष्ट अनुभूति हुँदो रहेछ।’

कोइली चरा बानीले स्वार्थी हुन्छन् भन्ने मान्यता छ। उनीहरू अरूको श्रममा आश्रित रहन्छन् भन्ने विश्वास गरिन्छ। कतिसम्म भने, आमा कोइलीले आफ्ना बचेराधरि आफैं हुर्काउँदैनन्। अन्डा पार्ने बेला खुसुक्क अरू सानातिना चराको गुँडमा जान्छन्। र, त्यहीँ अन्डा पार्छन्। यसरी कोइलीका बचेरा अर्कैको कोखमा हुर्कन्छन्। झुसिल्किरा वा त्यस्तै प्रकृतिका कोमल कीरा तिनका आहारा हुन्, जसलाई पक्रन कत्ति मिहिनेत पर्दैन। यस्ता कोइलीहरू उडेरै सात समुद्रपार पुग्न सक्छन् भन्दा कसले पत्याओस्!

कोइलीको यो उडान पछ्याउन सजिलो थिएन। त्यसका लागि सबभन्दा पहिला तिनलाई लठ्याएर वशमा लिनुपर्थ्यो। अनुसन्धाताहरूले कोइलीलाई समात्न चलाखीपूर्ण ढंगले सूक्ष्म किसिमको जाली प्रयोग गरे। त्यो जालीमा एउटी पोथी कोइलीलाई अरूले झट्ट देख्न नसक्ने मसिनो डोरीले बाँधिदिए।

त्यसपछि अनुसन्धाताहरूले कस्तो चलाखी गरे भने, यौनसम्पर्कका लागि भाले डाक्न पोथी कोइलीले जस्तो आवाज निकाल्छे, त्यसैको रेकर्ड ठूलो स्वरमा बजाए। अनुसन्धाताहरूले त्यस्तो आवाजको रेकर्ड पहिल्यै ठिक्क पारेर राखेका थिए।

यसरी पोथी कोइलीले यौनसम्पर्कको निम्ति आह्वान गरेको सुनेपछि त्यो ठाउँमा चारैतिरबाट भाले कोइलीहरूको घुइँचो लाग्यो।

‘पोथीको आवाज सुनेर भाले कोइलीले आफूलाई थाम्न सकेनन्, टाढा–टाढाबाट झुम्मिन आइपुगे,’ अनुसन्धानमा संलग्न बेलायती चराप्रेमी तथा वातावरणविद् टेरी टाउन्सहेन्ड भन्छन्, ‘इर्ष्या लागेर होला, एउटी पोथी कोइली पनि त्यहाँ अनपेक्षित रूपले आइपुगेकी थिई।’

कोइलीहरूलाई एकठाउँ भेला गराउने सबभन्दा गाह्रो काम फत्ते भएपछि अनुसन्धाताहरूलाई ठूलै लडाइँ जितेजस्तो भयो। अब बाँकी काम पोथीको आवाजले लठ्ठिएका ती कोइलीलाई पक्रेर तिनमा यन्त्र झुन्ड्याउनु थियो। उनीहरूले सौर्य ऊर्जाले चल्ने सानो यन्त्र पाँचवटा कोइलीको शरीरमा झुन्ड्याइदिए। प्रत्येक यन्त्रको तौल ०.१६ औंस थियो। यन्त्र भारी भएर उड्न अप्ठ्यारो नहोस् भन्नेमा अनुसन्धाता सचेत थिए। उनीहरूले कोइली छान्दा पनि यन्त्रको तौल धान्न सक्ने क्षमता हेरेका थिए। छानिएका प्रत्येक कोइलीको तौल करिब ३.५ औंस थियो।

यन्त्र जडान गरेपछि ती कोइलीलाई स्वतन्त्र रुपमा उड्न दिइयो।

अनुसन्धाताहरूको यो प्रयोग कुनै नौलो भने होइन। सन् १९९० दशकदेखि नै बसाइँ सर्ने चराको अध्ययन गर्न यस्तै विधि प्रयोग गरिँदै आएको छ।

यसपालि अनुसन्धानको उद्देश्य कोइली चरीको उडानबारे जानकारी बटुल्नु मात्र होइन। चरासम्बन्धी सचेतना जगाउनु पनि यसको उद्देश्य थियो। त्यही भएर स्थानीय विद्यार्थीहरूमा चराबारे कौतुहल जगाउन उनीहरूलाई पहिले नै यस खोजबारे जानकारी दिइएको थियो। यन्त्र झुन्ड्याइएका दुई कोइली चरीको नाम विद्यार्थीहरूले नै राखेका थिए। फ्ल्यापी र स्काईबम्ब बाहेक अन्य चराको नाम होप, जिगुई र मेङ्ग झी जुवान अर्थात् सपनाको चरा थियो।

जब ती चराले स्वतन्त्र उडान भर्न थाले, तब तिनीहरू कहाँ जान्छन् भन्ने कौतुहल र पर्खाइ सुरु भयो।

चर्को गर्मी सकियो। कोइलीको बसाइसराइँको समय नजिकिन थाल्यो। सबै कोइलीले बसाइँ सर्न सकेनन्। ‘होप’ उत्तर रसियातिर उडिन्, तर बीच बाटोमै कता हराइन् पत्ता लागेन। सायद उनी उड्दाउड्दै बाटोमै मरिन् वा यन्त्र उनको शरीरबाट खस्यो!

त्यस्तै ‘जिगुई’ नामको कोइली चरीबाट प्राप्त हुने सन्देश पनि बेइजिङ नजिकै रोकियो। सायद ऊ पनि त्यतै कतै मर्यो वा यन्त्र खसाल्यो!

पोथी कोइली फ्ल्यापी भने अगष्टमै दक्षिणतिर लागेकी थिई। त्यसको केही सातामै स्काईबम्बले फ्ल्यापीकै बाटो पछ्यायो। केही समयमा मेङ्ग पनि त्यही दिशामा उडी। अनुसन्धानकर्ताहरूले प्रत्येक दिन उनीहरूको यात्रा निरीक्षण गर्दै स्याटलाइटबाट प्राप्त सूचना टुइटरमा अपडेट गर्न थाले। यसले ठूलो संख्यामा चराप्रेमीलाई आकर्षित गर्यो।

स्याटलाइटबाट प्राप्त सूचनाअनुसार सेप्टेम्बर मध्यतिर स्काईबम्ब र फ्ल्यापी भारतमा थिए। उनीहरू दक्षिणपूर्वी एसियातर्फ जान्छन् भन्ने धेरैको विश्वास थियो। तर, तिनले सबैलाई गलत साबित गरिदिए। भारत पुगेपछि अब उनीहरू पश्चिम लाग्छन् भन्ने अनुमान भयो। तर, उनीहरूले कुन बाटो उडान भर्लान् भन्नेमा झन् धेरै चासो बढ्यो।

अक्टोबर अन्त्यतिर सबैले यसको उत्तर पाए।

स्काईबम्बले मध्य–भारतबाट उडेर कतै अलमल नगरी उत्तरी हिन्द महासागर हुँदै अफ्रिका पुग्ने छाँटकाँट देखायो। कोइलीजस्तो मामुली खालको सानो चराले त्यस्तो साहसिक जोखिम लिनु अचम्म थियो।

जब स्काईबम्ब हिन्द महासागर माथि उड्न थाल्यो अनुसन्धानकर्ताहरूले खुसीले उफ्रिँदै भने, ‘वाह!’

स्काईबम्ब भनेको कमला कीरा खाएर बाँच्ने प्राणी हो। समुद्री बाटो अफ्रिका पुग्न उसले हजारौं माइल उड्नुपर्थ्यो। यसबीच न आराम गर्ने ठाउँ थियो न त खानेकुराको सम्भावना। कम्प्युटर स्क्रिनमा आँखा गाडेर बसेका अनुसन्धानकर्ताहरू सबै स्काईबम्बको यात्रा सफल होस् भनी कामना गर्न थाले।

कोइलीले यति ठूलो आँट गर्नुमा केही कारण पनि छन्:

भारतमा मनसुन बेला कोइलीहरूका लागि लागि प्रशस्त खानेकुरा पाइन्छ। त्यसपछि कोइली मनसुनको हावा फेरि हिन्द महासागरतर्फ फर्कने क्षणको प्रतीक्षा गर्छ। यसले कोइलीको महासागरतर्फ उडान सहज बनाउँछ।

उसले २,६०० फिट उचाइमा सोझो उडानलाई निरन्तरता दियो। दोस्रो दिनसम्म महासागरमा आधा बाटो पूरा गरिसकेको थियो। तेस्रो दिन अफ्रिकाको पूर्वी तटतिर पुग्यो। त्यहाँ उसले आराम गर्यो। खानेकुरा पनि प्रशस्त पायो।

उडानको अधिकांश समय स्काईबम्बले अनुकूल हावा पाइरहेको थियो। तर, उसले जमिनमाथि उडान भर्न थाल्दा विपरित दिशाबाट हावा चल्न सुरु भइसकेको थियो। हावाको वेग धेरै नभए पनि त्यसलाई चिर्दै कतै नरोकिकन निरन्तर उडिरहन सानो कोइली चरीलाई गाह्रो थियो।

अक्टोबर अन्तिममा अनुसन्धानकर्ता टाउन्सहेन्डले ट्विटरमा घोषणा गरे– ‘स्काईबम्ब अफ्रिका पुग्यो!’

यात्रा सुरु गरेको ६४ औं दिनमा उक्त चरा सोमालियाको तटमा पुगेको थियो। घाम डुबेको एक घन्टापछि ऊ सोमालियाको भूमिमा बस्यो। उसले भारतबाट कतै नरोकीकन २,३०० माइल यात्रा उडेरै पूरा गर्यो।

यसरी अवनरत उडिसकेर पनि स्काईबम्बको यात्रा सकिएको थिएन। केही समयअघि झरी परेको स्थान उसको गन्तव्य थियो। त्यस्ता ठाउँमा उसले आफ्नो आहारा सजिलै पाउँथ्यो। उसले तुरन्तै थप १९० माइल यात्रा गर्यो। झरी कुन स्थानमा परेको छ र आफ्नो आहारा कहाँ पाइन्छ भन्ने उसलाई थाहा रहेछ।

अन्य चराले आफ्नो यात्रा स्काईबम्बभन्दा केही पछि सुरु गरे। पोथी कोइली फ्ल्यापीले स्काईबम्बभन्दा केही दिनपछि यात्रा सुरू गरेकी थिई। उसले कम जोखिमपूर्ण यात्रा गरी। ऊ भारतबाट अरबियन समुद्र पार गरेर ओमन पुगी। यसले समुद्रमाथि उसको उडानलाई छोटो बनायो। तर, यो बाटोले उसलाई अझै टाढा रहेको उत्तरी अफ्रिकासम्म पुर्यायो। उसले १६ देश हुँदै यात्रा गरी।

फ्ल्यापीसँगै उडेको मेङ्ग झीले दस देश हुँदै अफ्रिकासम्मको यात्रा तय गर्यो।

यसरी चीनदेखि अफ्रिकासम्म यात्रा गरेका ती कोइली चरी अहिले कहाँ छन्? 

'द बेइजिङ कुकु प्रोजेक्ट' का अनुसार मेङ्ग झी अफ्रिका गन्तव्य बनाउँदै उडान भरेको ठीक एक वर्षपछि चीनमा देखा परेको थियो। एक वर्षमा उसले कम्तीमा २७ हजार किलोमिटर यात्रा गरेको अनुसन्धाताहरूको आँकडा छ। यो भनेको झन्डै आधा संसारको यात्रा हो।

मेङ्ग झीले आफूसँगै कोइली चरीहरूको यात्रा विवरण बोकेर आयो। यी कोइली चरी चीनमा चर्चित भइसकेका थिए। मेङ्ग झी फर्किएको खबरसँगै चराप्रेमीमाझ खुसी छायो। सबैले उसको स्वागत गरे।

स्काईबम्बको कुरा गर्ने हो भने अनुसन्धाताहरूले अनुमान गरे जस्तो ऊ चीन फर्किएन। लामो यात्रापछि उसले अफ्रिकालाई नै आफ्नो घर बनायो।

सन् २०१७ को नोभेम्बरतिर स्काईबम्बको यन्त्रले काम गर्न छाड्यो। अनुसन्धाताहरूले स्काईबम्ब गुमाए। उसको मृत्यु भयो वा उसले आफ्नो शरीरमा जोडेको यन्त्र खसाल्यो भन्ने अझै पनि यकिन उनीहरूलाई छैन। तर उनीहरूले स्वीकारेका छन्, स्काईबम्ब सदाको लागि विदा भइसक्यो।

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म नाम कमाएको स्काईबम्बलाई गुमाउँदा अनुसन्धाताहरू दुःखी थिए। उसले छाडेर गएको सूचनाले अनुसन्धाताहरूलाई कोइली चरीहरूको कठिन जीवनयात्रा बुझायो।

अब सबैलाई फ्ल्यापीको प्रतीक्षा थियो। उसको घर फिर्ती यात्रा मेङ्गको भन्दा निकै ढिलो थियो।

सन् २०१८, मे महिनाको मध्यतिर ऊ चीनतिर आउँदै थिई। अनुसन्धाताहरू उसलाई ट्रयाक गरिरहेका थिए। उसको स्वागत गर्ने तयारीमा थिए। तर म्यानमार आइपुगेपछि फ्ल्यापीको शरीरमा जोडिएको यन्त्रले राम्ररी काम गर्न छाड्यो। 

अनुसन्धाताहरूलाई अनुमान लगाउन गाह्रो भएन, फ्ल्यापीले आफ्नो प्राण त्यागी। मध्य मे महिनामा उसले लामो यात्राबाट विश्राम लिई। लाखौं चिनियाँले उसको सम्झना गरे। दुःख मनाए।

'हिउँद सुरू नहुँदै उत्तरी चीनबाट अफ्रिका बसाइसराइँ गर्ने कोइली चरीहरूको यात्रा जीवन बुझाउने फ्ल्यापी, मेङ्ग झी र स्काईबम्ब सधैं सम्झनामा रहनेछन्,' ब्रिटिस ट्रस्ट अफ ओर्निथोलोजीका कोइली विज्ञ क्रिस हेउसनले भनेका छन्।

(द न्यूयोर्क टाइम्स र द बेइजिङ कुकु प्रोजेक्टको सहयोगमा तयार पारिएको)

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */