खेलकुद

ओमानविरुद्ध १५० रनको जित

काठमाडौं : मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  ४३.२ ओभरमा सबै विकेट गुमाई २२९ रन बनाएको  थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन बनाउँदा अल आउट भयो। 

ओमानको इनिङ धरासायी बनाउने क्रममा नेपालका लागि पवन सरार्फले ३, सूर्य तामाङ र प्रतिस जिसीले २-२ भीम सार्की, कुशल मल्ल, र कमलसिंह ऐरीले १-१ विकेट लिए । 

ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए।  भीम सार्कीले ३९ रन र प्रतिस जिसीले ४१ जोडे। अन्यले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

नेपालले २०औं ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाईसके थियो। छैटौं विकेटका लागि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै स्कोर १७३ रन पुर्‍याए। ३५ औं ओरमा रोहित आउट भएपछि लगातार विकेट गुम्न थाल्यो। १७८ रन बनाउँदा नेपालको ९ विकेट गुमिसकेको थियो।

१० औं नम्बरमा क्रिजमा आएका प्रतिस जिसीले सूर्य तामाङसँग मिलेर ५१ रनको जोडेपछि सम्मानजक स्कोर बन्यो। आक्रमकरुपमा प्रस्तुत भएका जिसीले २३ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएर आउट भए। सूर्य तामाङ ७ रन बनाइ नटआउट रहे। 

ओमानमाथि जित हासिल गरे पनि विश्वकपमा छनोट हुनका लागि भने नेपाललाई कठीन नै देखिएको छ । आजै भएको अर्काे खेलमा यूएईले सिंगापुरलाई ९ विकेटले हराउँदै जित यात्रालाई यथावत राखेको छ । बिहीबार हुने अन्तिम खेलमा नेपालले कुबेतलाई हराउनुका साथै ओमानले यूएईलाई हराएमा मात्रै नेपालको सम्भावना रहने छ । 

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरी उत्कृष्ट सुरुवात गरेको नेपाली यू–१९ टोली दोस्रो खेलमा वर्षा बाधक बन्दा डीएल नियममा यूएईसँग १ रनले पराजित हुन पुग्यो । 
तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको जित निकालेको नेपालका लागि अन्तिम खेलमा ओमानले यूएईलाई हराउने झिनो आशा भने बाँकी छ । 

 यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */