सूचना-प्रविधि

सजिलो पासवर्डले साइबर आक्रमण

सजिलो पासवर्डले साइबर आक्रमण

काठमाडौं । आफ्नो बिर्सिने बानी व्यवस्थित गर्नुको सट्टा सजिलो पासवर्ड प्रयोग गर्दा अधिकांश इन्टरनेट प्रयोगकर्ता साइबर आक्रमणमा पर्ने गरेका छन् । धेरैजसो मानिस सजिलो पासवर्डकै कारण समस्यामा पनि पर्ने गरेका छन् । यस्तो सजिलो पासवर्डका कारण साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ ।

पछिल्लो समय एक अनुसन्धानले विश्वभरका २ करोडभन्दा बढी मानिसको एउटै पासवर्ड प्रयोग गर्ने गरेको देखाएको छ, त्यो हो १२३४५६ । बेलायती साइबर सुरक्षा संस्था एनसीएससीले गरेको अध्ययनमा २ करोड ३० लाख मानिसले उक्त पासवर्ड प्रयोग गर्ने गरेको पाइएको हो ।

पासवर्ड छनोटमा प्रयोगकर्तालाई धेरै सचेत बनाउने प्रयास भइरहेका हुन्छन् । यति हुँदा हुँदै पनि मानिसहरू सजिलो पासवर्ड राखेर साइबर आक्रमणको शिकार हुने गरेको उक्त संस्थाले बताएको छ । निकै सजिलो पासवर्ड राख्नु आफैलाई असुरक्षित गराउनु हो । मानिसले १२३४५६ पछि सबैभन्दा धेरै १२३४५६७८९ पासवर्डको प्रयोग गर्ने गरेको पाइएको थियो । साथै १११११११ पासवर्डको प्रयोग पनि उल्लेख्य मात्रामा भएको पाइएको थियो । यी पासवर्ड निकै सजिलै ह्याक हुन सक्छन् ।

त्यसैगरी कतिपयले स्थानीय फुटबल क्लबको नाम पनि आफ्नो पासवर्डमा राख्ने गरेका छन् । यसमा लिभरपुल सबैभन्दा अगाडि छ । दोस्रो स्थानमा चेल्सीको नाम छ ।

पासवर्ड सम्झिन सजिलो पार्न नेपालीहरूले भने आफ्नो घरको फोन नम्बर प्रयोग गर्ने गरेका छन् । कतिपय आफ्नो श्रीमान्–श्रीमती वा छोराछोरीको नाम वा फोन नम्बर पासवर्डको रूपमा प्रयोग गर्छन् । पछिल्लो समय धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताको पेज ह्याक भएका छन् । सजिलो पासवर्डका कारण धेरैको डाटा पनि चोरी भएका छन् ।

अधिकांश नेपालीलाई आफ्नो डाटा सुरक्षाको खासै महŒव नहुने भएकाले साइबर आक्रमणको खासै समस्या सतहमा आएको छैन । अब भने धेरैजसोले अनलाइन कारोबार गर्ने ट्रेन्ड बसेकाले साइबर आक्रमण हुनेतर्फ चनाखो हुनु अपरिहार्य भइसकेको छ ।

साइबर आक्रमण हुँदा आफूले मेहनत गरेर बनाएको डकुमेन्ट, फोटो, बैंक ब्यालेन्सलगायत व्यक्तिगत सम्पत्ति चोरी हुने गर्छ । त्यसैले प्रत्येकले सजिलो पासवर्डभन्दा पनि ह्याक गर्न कठिन हुने खालको पासवर्ड प्रयोग गर्नुपर्छ ।
साइबर अपराधबाट बच्न ध्यान दिनुपर्ने पक्षहरु:

  • आफूले प्रयोग गर्ने पासवर्ड गोप्य र अनुमान गर्न नसकिने जस्तै– अक्षर, अंक र स्पेशल क्यारेक्टर सम्मिलित पासवर्ड राख्नुपर्छ ।
    पासवर्ड नियमित रूपमा परिवर्तन गर्नुपर्छ ।
  • अनेकौं प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेल सकेसम्म खोल्नु हुँदैन र प्रतिउत्तर दिनु हुँदैन ।
  • साइबर क्याफे जस्तो सबैले कम्प्युटर प्रयोग गर्ने ठाउँबाट सकेसम्म इन्टरनेट बैंकिङ जस्ता संवेदनशील कारोबार गर्नु हुँदैन ।
  • ईमेल वा फेसबुकलगायत इन्टरनेट सेवा प्रयोग गरिसकेपछि लगअफ गर्नुपर्छ ।
  • विशेषगरी सार्वजनिक स्थलमा इन्टरनेट प्रयोग गर्दा कुनै पनि साइटमा पासवर्डको अभिलेख रहने ‘अप्शन अल्वेज रिमेम्बर माई पासवर्ड’, ‘किप मी लग्डइन’मा ठीक लगाउनु हुँदैन ।
  • व्यक्तिगत सूचनाहरू, जस्तै– पासवर्ड, क्रेडिट कार्ड नम्बर र पिनकोड मागिएका इमेलहरूको प्रतिउत्तर दिनै हुँदैन ।
  • सामाजिक सञ्जालहरूमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रूपमा एड गर्नुपर्छ ।
  • अनलाइनमा भेटिएका नयाँ साथीहरूसँग च्याट गर्दा सावधान रहनुपर्छ ।
  • आफ्नो र आफ्ना साथीका व्यक्तिगत जानकारी सकेसम्म अनलाइनमा पोस्ट गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */