समाचार

सम्बन्धविच्छेद स्वीकार्न नसक्दा वीभत्स हत्या

विराटनगर : पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको नौ जनाको वीभत्स हत्याकाण्डमा पारिवारिक कलह मुख्य कारण हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गरेको बदला लिन मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले घटनाको प्रारम्भिक अनुसन्धानबाट मानबहादुरले घटना गरेको हुनसक्ने प्रशस्त आधार भेटिएको बताए । प्रवक्ता पौडेलले  टेलिफोनमा भने, ‘अनुसन्धान उनैतर्फ केन्द्रित छ । उनी झुण्डिएको स्थानको छेउमा रगत लागेको २–३ वटा कपडा भेटिनु, परिवारमा द्वन्द्व हुनु लगायतका विषयलाई हामीले अनुसन्धान गर्दै छौं । तर अहिले नै यसै भन्न सकिन्न ।’

प्रहरीले हत्या गरिएका ९ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुरको शवलाई मंगलबार राति नै पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । निरिक्षक पौडेलले पोष्टमार्टम रिपाेर्ट आएपछि धेरै कुरा प्रष्ट भन्न सकिने बताए । उनले भने, ‘घटनामा फेला परेका विभिन्न प्रमाणहरुको परीक्षण र मृतकहरुसँग सरोकार राख्नेहरुले प्रयोग गर्ने माेेेबाइलको कल डिटेलले पनि अनुसन्धानमा सहयोग गर्छ ।’

मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्मा परिवारका नौ जनाको गत राति वीभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर, सङ्घीय प्रहरी एकाइ धरान र सिआईभीले अनुसन्धान गर्दै आएको छ ।

नौ जनाको हत्या गरेको घटना सेलाउन नपाउँदै बमबहादुरका ज्वाँई मानबहादुर रुखमा झुण्डिएको अवस्थाामा फेला परेका थिए । निम्न आर्थिक स्तर रहेका फियाक र शेर्माका परिवारबीचमा आपसी खटपट र रिसइबी रहेको थियो । मानबहादुर र उनकी श्रीमती मनकुमारीबीचमा सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो ।

बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीसँग मानबहादुरले पाँच वर्षअघि विवाह भएको थियो । विवाह पश्चात उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालेकी थिइन् । मनकुमारीले मानबहादुर आफूसँग सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएकी थिइन् ।

मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले सालीले सम्बन्धविच्छेद गर्न चाहेको तर साढु भाइ(मानबहादुर)ले नमानेका कारण द्वन्द्व बढ्दै गएको बताए ।

सुसरा र साढु दाइको हत्या भएकै दिन मानबहादुरको शव उनकै घरभन्दा करिब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको साथबाट रगत पोतिएको खुकुरी, केही कपडा र झोला फेला परेको थियो ।

सो हत्याकाण्डमा बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया, कान्छी छोरी मनकुमारी फियाक (माखिम) र बमबहादुरकी नातिनी आसिका खजुमको बमबहादुरको घरमा हत्या भएको थियो । मनकुमारी मानबहादुरको श्रीमती हुन् ।

यस्तै बमबहादुरका जेठा ज्वाइँ धनराजसहित उनकी श्रीमती अस्मिता, उनीहरुका दुई छोरी युहाना र मुना तथा धनराजका भाइकी छोरी इक्सा शेर्माको धनराजको घरमा वीभत्स हत्या भएको थियो । घटनामा आशिकाकी दिदी सीता भने भागेर बाँच्न सफल भएकी छन् । उनको झापाको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए । पहाडी क्षेत्रमा बाक्लो बस्ती नहुँदा घटना हुँदा स्थानीयले चाल समेत पाएनन् । धनराजको घरभन्दा माथि वडा कार्यालय र अर्को एक घर रहेको छ । धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका छ । जसका कारण पनि घटना स्थानीयले राति घटनाको जानकारी पाउन सकेनन् ।

बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्ने गरेको स्थानीयले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */