राजनीति

सडकमा यसरी उत्रिए विद्यार्थी

काठमाडौं : ‘विद्यार्थी माथिको हस्तक्षेप बन्द गर’, करार नियुक्ति बन्द गर’, सरकारको आधिकारिक विज्ञप्ति जारी गर’, लगायतका चर्का नाराहसहित आज पनि विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।

सोमबार राज्यव्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्नु पर्ने निर्देशन दिएसँगै आयोगको तयारीमा रहेका विद्यार्थीहरु निरन्तर  आन्दोलनमा उत्रेका हुन् । विद्यार्थीहरुचर्को रुपमा  आन्दोलनमा उत्रिएसँगै प्रहरीले सुरक्षाकालागि भन्दै नयाँ बानेश्वरको दायाँ पट्टीको एक लेनको सडक समेत बन्द गरेका थिए।

काठमाडौंको माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे । जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए ।

सोमवार सिंहदरबारमा बसेको संसद्‌को राज्य व्यवस्था समितिको बैठकले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावना अनुरूप नभएको भन्दै त्यस्तो निर्देशन दिएको थियो । समितिले लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिएको थियो ।

लोकसेवा आयोग ऐन २०६६ ले माग गरेको निकायले कारणसहित रद्द गरिदिन आग्रह गरेमा मात्रै विज्ञापन रद्द गर्न सकिने व्यवस्था छ । ऐनको दफा २८ को उपदफा ९१० मा भनिएको छ,'आयोगले प्रकाशन गरेको विज्ञापन पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनुअगावै अख्तियारवाला निकायले विज्ञापन रद्द गरिदिन कारणसहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो परीक्षा रद्द गर्न सक्नेछ ।’

विज्ञापन संविधानअनुसार समानुपातिक समावेशी नभएको भन्दै समावेशीको माग गर्ने पक्षबाट यसअघि नै सर्वोच्चमा रिट दायर भइसकेको छ । अधिवक्ता विकास ठाकुरले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि असार ३ गते बोलाएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */