राजनीति

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् । पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ । ‘उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने मार्कसिटमा नम्बर फरक पारिएको रहेछ,’ पनिकाका एक कर्मचारीले भने, ‘पछि पनिका बल्खुले ट्रान्सक्रिप्टमा पनि नम्बर बढाएर दिएपछि उनले गोल्ड मेडल पाएका रहेछन् ।’ स्रोतअनुसार एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका छन् । अन्य विषयमा पनि जथाभावी नम्बर थपेर ट्रान्सक्रिप्ट दिइएको छ ।

कोइरालालाई २०७२/७३ को वार्षिक परीक्षाको नतिजामा नम्बर थपेर सर्वोत्कृष्ट बनाइएको हो । स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा रहने लेजरमा समेत सच्याएर शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । परीक्षार्थीबाट रकम लिएर पनिकाका उच्चस्तरका कर्मचारीले किर्ते शैक्षिक प्रमाणपत्र जारी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले नम्बर थपेर प्रमाणपत्र जारी गरेको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्यलाई दुई साताअघि र विद्यार्थी कोइरालालाई गत बुधबार पक्राउ गरेको छ । त्रिविका उच्च तहका एक कर्मचारीले भने, ‘विद्यार्थीलाई दिएको प्रमाणपत्र र लेजर दुवैमा नम्बर थपेर बदमासी लुकाउन खोजिएको देखिन्छ, परीक्षा नियन्त्रक तहकै कर्मचारीको संलग्नताबिना यस्तो किर्ते सम्भव छैन ।’ एक/दुई जना कर्मचारीको संलग्नतामा मात्रै पनि यस्तो किर्ते सम्भव नहुने परीक्षाका विज्ञहरू बताउँछन् । मार्कसिट, लेजर पनिकाको गोप्य शाखामा तयार पार्ने गरिन्छ । लेजरमा नाम, नम्बर, जन्ममितिलगायत कुनै त्रुटि भए परीक्षा नियन्त्रकस्तरको कर्मचारीले मात्र सच्याउन सक्छन् । त्रुटि नहोस् भनेर उत्तरपुस्तिकाको नम्बर दुइटा कम्प्युटरमा ‘इन्ट्री’ गरेर ‘क्रस चेक’ गरिन्छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */