राजनीति

पेट्रोलियम पाइपलाइन उद्घाटन आज, प्रतिघण्टा दुई सय किलोलिटर इन्धन आउने, मूल्य घट्ने

काठमाडौँ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज मङ्गलबार हुने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुहुने छ ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उहाँका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्नुहुने छ ।

 

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने जानकारी दिनुभयो । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।

  

परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ । गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो । मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो । २०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

 

नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७।५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो । उक्त पाइपलाइनको सुरक्षाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्षा मन्त्रालयलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको हो ।

 

मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।
पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */