समाचार

बेड नपाएपछि अस्पताल पुगेर त्यसै फर्किन्छन् बिरामी

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेंगु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।

दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएकी मुर्गीया निवासी भीमकला भण्डारी बेड नभएपछि फर्किइन् । 'अस्पतालमा ठाउँ छैन भन्छन्, सबै ज्वरो र डेंगुका बिरामी छन् रे', ह्विलचियरमा छोरासँग अस्पताल आएकी भण्डारीले भनिन् । बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ । कपिलवस्तुको महाराजगञ्जबाट नवजात शिशुको उपचारका लागि आएकी एक दिनकी सुत्केरीले समेत भुइँमै बसेर शिशुको उपचार गराइरहेकी छिन् ।

'राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यहीँ बस्न भनिएको छ', सुत्केरी आस्मा खातुनले भनिन् । भाइरल ज्वरो र डेंगुको सङ्क्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन् । ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्ने काम भइरहेको छ ।

एउटै बेडमा तीन जासम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । 'राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु' डेंगुको उपचारका लागि अस्पतालमा भर्ना भएका बुटवल हाटबजारका रोशन कुमारले भने । ठाउँको अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । 'ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन', अस्पतालमा उपचारका लागि भर्ना भएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले दुखेसो गरिन् ।

अस्पतालमा दैनिक १ हजार १ सय बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक २ सयको उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा कृष्ण खनालले जानकारी दिए । 'अस्पतालमा बिरामीको चाप हुँदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छाैं', डा खनालले भने, 'अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हुँदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ ।'

भदौको सुरुआतदेखि जिल्लामा डेंगु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ । पछिल्लो एक हप्तामा डेंगुको सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ ।

'अस्पतालमा बिरामीको चाप बढी छ, दैनिक ३० देखि ४० भाइरल ज्वरोका बिरामी आउँछन्', मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल शर्माले भने । बुटवलका अन्य निजी अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीहरुको चाप छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */