पढ्नै पर्ने
सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना

१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।
नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन् ।
अनलाइनखबरसँग कुरा गर्दै नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’