पढ्नै पर्ने

महिलालाई पल्टाउने डोजर चालक पक्राउ

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालक पक्राउ परेका छन्। महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। बोहरामाथि अनुसन्धान भइरहेको पाण्डेयले बताए।

सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा सोमबार  झडप भएको थियो। झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो। जोशीको अहिले धनगढीमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन्।

सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए। रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ। सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन्। 

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए  । सडक निर्माण हुने ठाउँमो गुठीको जमिन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको उनले बताए। ‘हामीले आइतबार राति ३–४ दिनमा सहमति गरेर सडक निर्माण गर्ने कुरा गरेका थियौं।’ जोशीले भने–‘सबैको साझा गुठीको जमिन पर्ने भएकाले छलफल गर्नुपर्छ भनेका थियौं। तर निर्माण पक्षले एक्कासी आएर हाम्रो जमिनमा डोजर चलायो। डोजर रोक्न खोज्दा एकजनालाई डोजरले नै हुत्यायो।’

निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन्। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */