राजनीति

‘कालापानी हाम्रो हो, कुटनीतिक तवरबाट नभए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । 

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताले नेपाली भूभाग जोगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कूटनीतिक च्यानलमार्फत यो विवाद हल गर्नुपर्ने बताए ।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी थिए ।

सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ। देशभर २३ ठाउँमा सीमा विवाद छ। सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्ष दलका विद्यार्थी संगठनहरू नै गो ब्याक इण्डिया भन्दै सडकमा निस्किसकेका छन्। शुक्रबार मात्र लैनचौरको भारतीय दूतावासअगाडि ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेविसंघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन्। बैठकमा सहभागी भई शनिबार साँझ बाहिरिएका पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो गर्‍यो भनेर नेपालले सोध्नुपर्छ, वव्यक्त मात्र दिएर हुँदैन’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने ‘भारतले नेपालको भूमिसहित नक्सा जारी गरेकोले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न बैठकमा सुझाव आएको छ । राजदूतलाई स्पष्टिकरण सोध्न सबै दल र नेताहरू पनि एकमत हुनुहुन्छ।’

नेपालको भूमि एक इन्च पनि अतिक्रमण हुन दिन नहुने उनले बताए। ‘कालापानीमा भारतले पहिले सेना राख्यो अहिले त्यो भूमि नक्सामा राखेको रहेछ यो गलत हो,’ उनले भने। उनले कूटनीतिक तवरबाट नेपाल र भारतबीच सीमा विवाद हल गर्न सुझाव दिएको बताए। उनले भारत सीमा विवादमा गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताएका छन्।

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए । ‘परराष्ट्रसचिवको बैठकको अर्थ छैन’, बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ। सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ।’

बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए। उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */