राजनीति

‘केही गर्दैनौं,कार्यकर्ता छुटाउन मात्रै अपहरण गरेका हौं भने’

काठमाडौं । नेकपा विप्लव समूहका कार्यकर्ताले दैलेखबाट शनिबार राति स्थानीय ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारुढ नेकपाका जिल्ला कमिटी सदस्य धीरबहादुर शाही र उनकी पत्नी तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई अपहरण गरे ।

राति करिब १२ बजे अपरहणमा परेका दम्पतीका बारेमा प्रहरीले बिहान पाँच बजेमात्रै जानकारी प्राप्त गर्‍यो ।  त्यसपछि प्रहरीले स्थानीयको सहयोग र समन्वयमा अपहरणमा परेका शाहीको खोजी तत्कालै सुरु गर्‍यो ।

 

“हामीले हेलिकोप्टर पनि तयारी अवस्थामा राखेका थियौं, तर हेलिकोप्टर सम्भावित इलाकामा लैजाँदा अपहरणकारीले थ्रेट महसुस गर्ने देखिएकाले हामीले विभिन्न इलाकाबाट सर्च अभियान थाल्यौं,”कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले बाह्रखरीसँगको कुराकानीमा भने ।
उनले सुदूरपश्चिम प्रदेशसँग पनि समन्वय गरेर विभिन्न जिल्लाको नाकामा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरीको समेत सहयोगमा सर्च अभियान अघि बढाइएको थियो ।

प्रहरीले विशेष सूचनाका आधारमा कालीकोटको जंगलमा राखेको जानकारी प्राप्त गरेको थियो । त्यसपछि प्रहरी कालीकोटको जंगलमा ‘सर्च’ गरेको थियो ।

“प्रहरी पुगेको थाहा पाएपछि माथिबाट ढुंगामुढा भयो,” जोशीले भने, “माथिबाट प्रहरीमाथि ढुंगा हान्न थालेपछि प्रहरीले पनि हवाइ फायर गर्नुपरेको थियो । त्यसपछि अपहरणकारी अध्यक्षलाई छाडेर भागे ।”

इलालाई भने राति नै अपहरणकारीले छाडिदिएका थिए । कसरी भयो यो घटना र के भने विप्लव समूहका कार्यकर्ताले ? यसबारेमा इलासँग बाह्रखरीले आज बिहान कुराकानी गरेको थियो । प्रस्तुत छ, कुराकानीका मुख्य अंशः

तपाईँहरु कसरी  अपहरणमा पर्नुभयो ? 

हामी दैलेखको ठाँटीकाँध–२ श्रीपाटाको घरमा शनिबार राति सुतिरहेका थियौं । 

कसैले बाहिरबाट ढोका ढक्ढक्यायो । उनीहरुले बाहिरबाट ढोका खोल्न आग्रह गरे । मैले झ्याल खोलेर हेरें । दुईजना मान्छे देखिए । उनीहरुले कुरा गर्नुछ ढोका खोल्नू भने ।

ढोका खोल्न मैले मानिनँ । ढोकामा उनीहरुले ड्याङ्गड्याङ्ग पारेपछि त्यसो नगर्नुस् ढोका खोल्छौं भनेर ढोका खोल्यौं । 

त्यसो गर्ने को हुन् जस्तो लागेको थियो ? 

को हुन् भनेर अनुमान गर्नै सकिएन । उनीहरु त्यताका मान्छे होइनन् । बाहिरबाट आएका मान्छे हुन् । हामीले उनीहरुलाई चिनेनौं ।

ढोका खोलेपछि के भने ?

ढोका खोलेपछि उनीहरुले मेरो पतिलाई लिएर जाने भने । उहाँले लुगा लगाउनुभयो । उहाँलाई लैजाने हो भने म पनि जान्छु भनेर भनेँ । 

उनीहरुले पेस्तोल तेर्स्याउँदै तपाईँ जाने होइन भने । हामी उहाँ (अध्यक्ष)लाई मात्रै लैजान्छौं भने । झ्यालबाट हेर्दा बाहिर दुईजना मात्रै देखिएका थिए । ढोका खोलेर हेर्दा चार जना रहेछन् । 

रोक्दारोक्दै तपाईं कसरी जानु भएको त ?

मैले जिद्धि गरेपछि उनीहरुले जान दिए । रातिको समयमा बिजारेको जंगल हुँदै कालीकोटको भर्तातिर उनीहरुले लिएर गए ।

उहाँ (पति) हिंड्नु भए पनि म हिँड्नै सकिनँ । बिहानीपख गाउँका केही मान्छे पनि भेटिए । 

त्यसबेला उनीहरुको ती मान्छेसँग पनि जम्काभेट भयो । त्यसपछि म अरु मान्छेसँग नै फर्किएँ । उनीहरु पनि उहाँ (अध्यक्ष)लाई लिएर गए । 

उनीहरुले खास के कुरा गरे तपाईँहरुसँग ?

उनीहरुले  हाम्रा मान्छे पनि थुप्रै पक्राउ परेका छन् । उनीहरुलाई छुटाउनका लागि तपाईंहरुलाई हामीले लिएर गएका हौं । 

हामी अहिलेको सरकारका मान्छेहरुलाई आफ्ना मान्छे नछुटेसम्म यसैगरी लिएर जान्छौं । तपाईँहरुलाई केही पनि गर्दैनौं भनेर भने । 

उहाँ (पति)लाई कालिकोटको जंगलतिर लगिँदै रहेछ । त्यही बेलामा कालिकोटको प्रहरी पनि त्यहीँ पुगेछ । प्रहरीले हवाई फायर गरेपछि उनीहरु उहाँलाई छोडेर भागेछन् । त्यसपछि उहाँ फर्किनुभयो । 

पतिसँग कुरा भयो त ?

आज बिहान फोनमा कुरा भयो । उहाँलाई गएराति १२ बजे प्रहरीले दैलेख सदरमुकाम ल्याएको रहेछ ।

गाउँबाट सदरमुकाम कति टाढा हो ?

सदरमुकामबाट गाउँ आउन गाडीमा चार घण्टा लाग्छ । 

अब गाउँमा आएर उहाँले काम गर्ने अवस्था छ कि छैन ?

त्यस्तो अप्ठेरो त केही छैन ।

कसैले केही भनेर धम्क्याएका छन् कि  ?

कसैले पनि धम्क्याएका छैनन् । केही पनि भनेका छैनन् । 

पहिला त्यस्तो गतिविधि पनि देखिएको होइन । तर, एक्कासी त्यस्तो भयो । 

उनीहरुले आफ्ना कार्यकर्ता छुटाउनका लागि मात्रै हामीलाई अपहरण गरेको भनेका थिए ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */