अर्थ/वाणिज्य
कृषि विकास बैक ४ करोड हिनामिना प्रकरणः बैंकका प्रवन्धक र सेनाका जर्नेलसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज (मंगलबार) आरोपपत्र दायर गरेको छ ।
अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र सञ्चालक प्रकाश घतानीले ४ करोडभन्दा बढी रकमको दुरुपयोग गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दयार गरेको अख्तियारको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।
आरोपीमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६११ रूपैयाँ बिगो मागिएको छ। घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४१५ बिगो दावी माग गरिएको छ। यस्तै, रेग्मीसँग एक करोड १० लाख ३३ हजार १९६, मरहठ्ठासँग ६७ लाख २१ हजार र पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको छ।
उनीहरुले ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ ४५ पैसा कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय न्यूरोडबाट अनधिकृत रुपमा रकम निकाली दुरुपयोग गरेको आरोप छ ।